
उर्लाबारी, १ मंसिर
उर्लाबारीस्थित अरनिको अस्पतालले एक बालिकाको भाँचिएको हातको शल्यक्रिया निःशुल्क गरिदिएको छ । उर्लाबारी–७ स्थित नमूना बाल गृहमा आश्रित अञ्जना विश्वकर्मा सोमबार खेल्ने क्रममा लड्दा देब्रे हात भाँचियो ।
बिरामी अञ्जनालाई अरनिको अस्पताल ल्याइयो । अस्पतालका डा. सन्दिप अधिकारीले नाडी माथिको हड्डी भाँचिएकोले शल्यक्रिया गर्नु परेको बताए । आज बालिकालाई डिस्चार्ज गरिएको छ ।
अस्पतालमा ल्याएदेखि शल्यक्रिया, औषधी, बेड चार्जलगायत सबै शुल्क छुट गरिदिएको अस्पतालका अध्यक्ष लोलिम पोमू लिम्बूले बताए । ‘सबै गरेर करिब ३५ हजार रुपैयाँ तिर्नु पर्ने हुन्थ्यो’ उनले भने, ‘अनाथ बालिका भएकोले हामीले निःशुल्क उपचार गरिदियौं ।’
बालिकाको निःशुल्क उपचार गर्ने प्रवन्ध मिलाएकोमा बाल गृहले अस्पताल र यसका सञ्चालकप्रति आभार प्रकट गरेको छ । गृहकी अध्यक्ष मीना बराल अस्पतालले कहिल्यै नर्बिसिने गुन लगाएको बताउँछिन् ।
अरनिको अस्पतालले असहाय, विपन्न, अनाथको निःशुल्क उपचार गरेको यो पहिलो पटक होइन । यसअघि पनि धेरै असहाय, विपन्नको निःशुल्क उपचार गरेको छ । अस्पतालका अध्यक्ष पोमू भन्छन्, ‘सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्नको निःशुल्क उपचार गराएका छौं ।’ आठ वर्षअघि उर्लाबारीमा स्थापना भएको अरनिको अस्पतालले समय सापेक्ष सुविधाहरुमा बढोत्तरी गर्दै पूर्वी, उत्तरी मोरङका बासिन्दाको उपचारका लागि टाढा जानु पर्ने बाध्यता अन्त्य गर्दै आएको छ । विशेषज्ञ डाक्टर, स्वास्थ्य बिमाको सुविधा, २४ सैं घण्टा इमर्जेन्सी सेवालगायतका सेवाले अरनिको बिरामीको उपचार गर्ने गन्तव्य बन्दै गएको छ ।