
उर्लाबारी, २३ कार्तिक
नेकपा एमाले उर्लाबारीको नवनिर्वाचित नगर कमिटीको सपथग्रहण कार्यक्रम आज सम्पन्न भएको छ । कार्तिक १७ गते चयन भएको ७५ सदस्यीय नगर कमिटीलाई अध्यक्ष मण्डलले आज सपथग्रहण गराएको हो ।
हाम्रो साकोसको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष मण्डलका अध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य नरेश पोखरेलले नवनिर्वाचित कमिटीलाई सपथ खुवाएका थिए । एमालेको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा गंगाप्रसाद बास्तोला, उपाध्यक्षमा कुमार लिम्बू, सचिवमा गोपालप्रसाद रिमाल, उपसचिवमा भरतमणि गौतम र निर्मला गौतम चयन भएका छन् । अन्य ७० जना नगर कमिटी सदस्य चयन भएका छन् ।
कार्यक्रममा अध्यक्ष मण्डलका अध्यक्ष नरेश पोखरेल, संघीय सांसद घनश्याम खतिवडालगायतले सफल कार्यकालको शुभकामना प्रकट गरेका थिए । नवनिर्वाचित अध्यक्ष गंगाप्रसाद बास्तोलाले उर्लाबारीमा नेकपा एमालेलाई दर्बिलो बनाउन नयाँ कमिटी लागिपर्ने बताए । पार्टीका सबै तह र तप्कालाई समेटेर अघि बढ्ने उनले बताए । कार्यक्रममा एमालेका प्रदेश कमिटी सदस्यहरु रामकुमार बस्नेत, भुपालसिं जिमी, लक्ष्मीदेवी भण्डारी, रुपेश खतिवडा, भुपेन्द्र लावती, युवराज बास्कोटालगायतको उपस्थिति रहेको थियो ।



